को ठुलो (कथा)

 को ठुलो ? 

एकादेशमा एउटा ठूलो धना जङ्गल थियो। जङ्गलमा धेरै जनावरहरू र चराचुरूङ्गीहरू बस्थे। त्यस जङ्गलमा एउटा हात्ती र एउटा बाँदर अत्यन्त मिलेर बसेका थिए। उनीहरू सँगसँगै खानेकुरा खोज्न जान्थे। जन्म र स्वरूपले अलग भए पनि ती दुबै साह्रै मिलेका थिए। जङ्गलमा मित्रताकाे सुन्दर उदाहरण बनेका उनीहरु सबैका आदर्श थिए। 

त्यही जङ्गलमा एउटा स्याल पनि बस्थ्याे। त्यसले बाँदर र हात्ती दुबैलार्इ पालै पालो कान फुकेर फाटाे ल्याउने विचार गर्याे । उसले दुबैलार्इ ' उ भन्दा तिमी पाे ठुलो ' भनेर उचाल्ने काम गर्याे। स्यालले बारम्बार आफूलाई ठूलाे भनेका कारण बाँदर र हात्तीमा आफूलाई ठुलो मान्ने अभिमान पलायाे। परिणामस्वरूप एक दिन उनीहरूका बिचमा ' काे ठूलो ? ' भन्ने विषयलाई लिएर वादविवाद चर्कियाे। उनीहरु बिच ठुलाे झगडा भयाे। तर उनीहरूले को ठुलो भन्ने टुङ्गाे लगाउन सकेनन्। आफ्नो झगडा टुङ्गिने अवस्था नदेखिएपछि झगडाको छिनोफानो गरिदिन लाटोकोसेरोलार्इ अनुरोध गर्ने विचार गरेर दुबै लाटोकोसेरो कहाँ गए। 

लाटोकोसेरोले उनिहरुको कुरा सुनेपछि भन्यो, " तिमीहरु दुबै जना खोलापारी गएर नरिवल टिपेर ल्याअो।" हात्ती र बाँदर  लाटोकोसेरोकाे आदेश पालन गरेर नरिवल टिप्न हिँडे। खोलो गहिरो थियो। त्यसैले बाँदरले हात्तीकाे पिठ्युँमा बसेर खोला तर्यो। त्यहाँ एउटा ज्यादै अग्लाे नरिवलको रुख थियो। त्यो रुखको नरिवल हात्तीले टिप्न सकेन र बाँदरलाई टिप्न लगायो। नरिवल टिपेर फर्कदा बाँदरलाई हात्तीको पिठ्युँमा बसेर खोला तर्नुपर्ने भएकाले नरिवल बोक्न कठिन भयो। त्यसैले नरिवल हात्तीले मुखमा च्याप्यो।

लाटोकोसेरोले दिएकाे निर्देशनअनुसार नरिवल टिपेर बाँदर र हात्ती जङ्गलमा आइपुगे।  लाटोकोसेरोले दुबैलार्इ ' नरिवल कसरी टिपेर ल्यायौ ? ' भनी सोध्यो। हात्ती र बाँदर दुबैले आफुले गरेको कार्य त्रमशः लाटोकोसेरो लार्इ बताए। बुद्धिमानी लाटोकोसेरोले ' एक  अर्काको सहायता विना खोला पारि जाने र नरिवल टिप्ने कुरा सम्भव हुने थिएन। त्यसैले आफ्नो काममा तिमीहरु दुबै जना ठूला छौ भनेर सम्झायो। लाटोकोसेरोकाे कुरा सुनेपछि तिनीहरु फेरि एकआपसमा पहिला जस्तै मिलेर बस्न थाले। 

यो कथाबाट आफ्नो काममा आफैँ ठुलो हुन्छ। अर्काको कुरा सुनेर आपसकाे मित्रतामा असर पर्ने कार्य गर्नुहुन्न भन्ने शिक्षा पाइन्छ। 

-साभार गरिएको

Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)