पारिजात : जीवनी

पारिजात 

नेपाली साहित्यको क्षेत्रमा समय समयमा विभिन्न व्यक्तिहरुले जन्म लिएका छन्। ती मध्यका एक हुन् पारिजात ।

पारिजात




पारिजातको जन्म दार्जिलिङको लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा ( वास्तविक नाम: विष्णु कुमारी वाइबा ) हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैले रोजेकी थिइन्। उनका असङ्ख्या कृतिहरूले जिवन्त सुभास दिएर यस नामलाई सार्थक पारेका छन्। साहित्यका विभिन्न बिधामा कलम चलाउने भएकाले नै पारिजात लाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद विसङ्गतिवाद इत्यदि भाव पाइन्छ।

प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा काठमाडौँ भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट प्रवेशिका र पद्मकन्या कलेजबाट बी.ए. सम्मको पढाई हासिल गरेकि थिइन्। अङ्ग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालयमा उनी भर्ना त भईन तर २६ वर्षको उमेरमा शारीरिक असक्तता र लेखन कार्यमा विशेष सक्रिय भएको कारणले उनको इच्छा अधुरै रह्यो। दर्शनशास्त्र र साहित्य बिषयका ग्रन्थहरु खोजीखोजी पढ्ने उनको बानी थियो। पारिजात एक सङ्घर्षसिल नारी थिइन। बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन्। त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोग पीडा पनि खप्नुपर्यो। पिताको संरक्षण र रेखदेखमा काठमाडौँमा बसि अध्यनमा लाग्दा उनले विभिन्न अभावहरूसँग जूध्नुपर्यो। बी.सं. २०२९ सालमा पिता को देहावसान भएपछि उनलाई पितृस्नेहबाट पनि बन्चित हुनुपर्यो।

वि.सं. २०१३ सालमा 'धरती' पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्य यात्रा सुरु गरेकी थिइन्।वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्था विरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरेका थिए। त्यो समूहको नाम 'राल्फा' थियो। यस समूहको केन्द्रविन्दुका रूपमा पारिजात लिइन्थ्यो। यो समूहले आफ्ना विद्रोहका स्वर देश-विदेशमा जहाँजहाँ उराल्दै हिँड्ने क्रममा उनले आफ्नो अशक्त शरीर त्यहाँ-त्यहाँ पनि लिएर गईन्। पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्त्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो।

उनको स्वास्थ्य झनझन् खराब हुँदै गयो। हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर, दम पनि थपिएर बाँच्न मुस्किल पारिदियो। यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक-पटक गरी भारतमा उपचारार्थ गईन्। उनी शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सक्रिय हुनुका साथै अखिल नेपाल महिला सङ्घको अध्यक्ष बनी भूमिगत कार्यमा सक्रिय भइन्। पारिजात वि.सं. २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भईन्। वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रहेको थियो। वि.सं. २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी कालोपट्टि बाँधी विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी भइन्। प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको 'प्राज्ञिक सङ्घर्ष समिति'को संयोजक भइन्। प्राज्ञहरूको माग पूरा गराउन भरमग्दुर प्रयास गरिन्। पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थासँग पनि संलग्न भइन्। उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष अखिल नेपाल महिला माचको संस्थापक अध्यक्ष बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य रहिन्। 

गीत सङ्गीतमा उनको ठूलो लगाव थियो। वेदना सांस्कृतिक समूहसँगै र पछि इसाससँगै पटक-पटक गरी भारतका विभिन्न प्रान्तहरू लगायत स्वदेश र विदेशमा उनले भ्रमण गरिन्। उनी इन्द्रेणी सांस्कृतिक समाजको इसासको मानार्थ अध्यक्ष थिइन्।

नेपाली साहित्यमा उनकाे ठुलो योगदान रहेको छ। उनको यही समर्पणको कारण उनलाई विभिन्न सम्मान तथा पुरस्कारहरुले सम्मानित गरिएको छ।  शिरीषको फूलको लागि मदन पुरस्कार - वि.सं. २०२२ , युगज्ञान पुरस्कार वि.सं. २०२७, पाण्डुलिपि पुरस्कार वि.सं. २०४९, गण्डकी बसुन्धरा पुरस्कार वि.सं. २०४९ आदि जस्ता पुरस्कारबाट  सम्मानित गरिएको छ। उनलाई 'जनमत' र 'नेपाल तामाङ घेदुङ सङ्घ'द्वारा अभिनन्दित पनि गरिएको थियो। पारिजातद्वारा लिखित पुस्तक 'शिरिषको फूल'को अङ्ग्रेजी अनुवाद  ' ब्लु मिमोसा ' लाई अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयले पाठ्यक्रममा पनि राखेको थियो।

पारिजातका प्रकाशित कृतिहरू -

  • आकांक्षा(कविता सङ्ग्रह, २०१४)
  • शिरीषको फूल (उपन्यास, २०२२)
  • महत्ताहीन (उपन्यास,२०२५)
  • आदिम देश (कथासङ्ग्रह, २०२५)
  • बैँसको मान्छे (उपन्यास, २०२९)
  • तोरीबारी, बाटा र सपनाहरू (उपन्यास, २०३२)
  • सडक र प्रतिभा (कथासङ्ग्रह,२०३२)
  • अन्तर्मुखी (उपन्यास, २०३५)
  • उसले रोजेको बाटो (उपन्यास,२०३५-'बेदना' पत्रिकामा प्रकाशित)
  • पर्खालभित्र र पर्खाबाहिर (उपन्यास,२०३२मा लेखिएको र २०३५मा प्रकाशित)
  • अनिंदो पहाडसँगै (उपन्यास, २०३९)
  • साल्गीको बलात्कृत आँसु (कथा सङ्ग्रह, २०४३)
  • धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण, २०४३)
  • पारिजातका कविताहरू (२०४४, ईश्वर बरालद्वारा सम्पादित)
  • एउटा चित्रमय सुरुवात (संस्मरण, २०४५)
  • परिभाषित आँखाहरू (उपन्यास, २०४६)
  • बोनी (उपन्यास, २०४८)
  • आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू, २०४८)
  • बधशाला आउँदा जाँदा (कथासङ्ग्रह, २०४९)
  • वैशाख वर्तमान (कविता सङ्ग्रह, २०५०/मुत्युपछि प्रकाशित)
  • अध्ययन र संघर्ष (संस्मरण,२०५१/मृत्युपश्चात प्रकाशित)
  • सुमित (संस्मरण,२०६५/मृत्युपश्चात प्रकाशित)

नेपाली साहित्यकी प्रखर नारी हस्ती पारिजात अङ्ग्रेजीमा एम.ए. पढ्न सुरू गर्दागर्दै प्यारालाइसिसले गर्दा अध्ययन गर्नबाट बन्चित भइन्। उनको निधन लामो समयसम्मको पुरानो त्यही प्यारालाइसिसको व्यथाले वि.सं. २०५० साल वैशाख ५ गते बिहान ४ बजे वीर अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा भएको थियो। उनकाे निधन भएता पनि उनी सम्पुर्ण नेपालीहरुको मनमा र नेपाली साहित्यमा सदा अमर रहनेछन्। 

Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)